मिति : २०७२/११/०२
प्रिय अनामिका,
आराम रहि आरामताको कामना गर्दछु ।
जीवनका गोरेटाहरुमा पाइला चाल्दै जाँदा एउटा सुन्दर बगैँचामा कुनै
भ्रमरको व्यग्र पतिक्षा गरि आफ्नो यौवनलाई फक्राएर सजिएकी सुन्दर कुसुमलाई पहिलो
पत्रमा नै प्रिय को सम्बोधन गरेँ, थाहा छैन यो कति सम्म उपयुक्त छ ?
तर
जुन दिन तिमीलाई देखेँ तिम्रो त्यही नसालु नजर, मन्द मुस्कुराहट
र चतुर चालले गर्दा होला मस्तिस्कलाई मुटुले जितेर तिम्रो नामको अगाडि प्रिय शब्द
थपिदियो, फलस्वरुप यो पत्रमा पनि त्यै शब्द लेखिदिएछ हातको कलमले । तिमी एक
झल्को देखियौ र तुरुन्तै लुक्यौ पनि, तर यो लुकामारी झन अविश्मरणीय बन्न
पुग्यो फिक्का बादलभित्र लुकेको पूर्णिमाको जुन सरी……।
समय, न तिम्रो बसमा थियो, न मेरो । भोलिपल्ट छुटिनुप¥यो, नचाहँदा नचाहँदै पनि । जुन दिनदेखि तिमीले आगो झोसेर गयौ, त्यै दिनदेखि म भुटभुटिएको भुटभुटियै छु, सुन्दर हाँडि पोखरामा, एउटा पड्कन नसकेको मकैको दाना बनेर ।
हाम्रो भेट नै अनौठो रह्यो । एक दिनको त्यो भेट आजसम्म पनि ताजा बनेर सम्झनामा आइरहेछ हरक्षण, हरपल । त्यो सत्यनारायण पूजाको दिन, पण्डित भएर पूजा गराउन पुगेको म अनि कर्ता बनेर बसेकी तिमी । जब जब तिमी मन्द चालमा मेरो समिप भएर मधुर बोलीले बिना सम्बोधन दुध, फलफुल र सर्वतको अनुरोध गथ्र्यौ, मेरो भोक, तिर्खा र थकाइ हराएर जान्थ्यो त्यसै त्यसै, अनि शरिरमा नयाँ स्फुर्ति बढेर आउँथ्यो । शान्ति मन्त्र पाठ गर्दै फूलको थुँगाले तिमीलाई जल छर्किएर अभिषेक गराउँदा म आँफै जलविन्दु बनेर सयर गरेको थिएँ, तिम्रो कोमल तनभरी । जब रक्षाबन्धन बाँध्ने बेला भएथ्यो, तिम्रो हात समाएर रक्षाबन्धन बाँध्दा त्यो रक्षाबन्धन नै तन्कियोस्, जति बाँधेपनि नसक्कियोस्, अनि त्यो समय नै ठप्प भएर रहोस्, युगयुगसम्म भन्ने लागिरहेथ्यो ता की तिमीलाई त्यो समीपबाट गुमाउनु नपरोस् जुनी जुनी सम्म……………।
भजन किर्तन चल्दै गर्दा तिमीले बाँढेको प्रसाद, त्यो
पनि सबैको आँखा छलेर थपुवा दियौ मलाई मात्र, अनि चिसो बढ्दै
जाँदा ओढ्ने दियौ त्यो पनि मेरै लागि मात्र । “आउ न यै ओढ्ने ओढेर सँगै किर्तन
गरौँ दुबै जनाले” मुख नखोलेरै बोलेको थिएँ म । तिम्रा हरेक बोली र व्यवाहारले पनि
बताइरहेको थियो, तिमी पनि म प्रति आकर्शित छौ भनेर ।
त्वमेव वन्धुश्च सखा त्वमेव,
त्वमेव बिद्या द्रविणं त्वमेव,
त्वमेव सर्वं मम देव देव ।।
उच्चारण गर्दै गर्दा तिमीलाई नै सम्झिरहेथेँ, अनि मन मनले
भन्दै थिएँ, “हो अनामिका, तिमी नै मेरो माता, पिता,
वन्धु,
मित्र,
विद्या
र धन हौ । अब यो संसारमा तिमी भन्दा बाहेक मैले प्राप्त गर्नुपर्ने कुनै बस्तु छैन
।” संयोग नै उस्तो, मध्यरातमा भजन मण्डपको पछाडि जाँदा त्यहीँ भेटियौ तिमी । हो, मैले
तिमीलाई आत्मिक प्रेम गरेको थिएँ । म पूर्ण रुपले तिमीमा समर्पित थिएँ । मैले
आँफुले आँफैलाई विर्सिएर तिमी भित्र नै आँफुलाई पाउन थालेको थिएँ, सायद
त्यो नै प्रेमको उत्कर्ष थियो । मैले चिच्याएर भनेको थिएँ, “अनामिका ! म तिमीलाई
प्रेम गर्छु ।” तर बोली बाहिर निस्कीएनछ, ओठ बन्दको बन्द नै रहेछन् ।
आजकल म आँफै अनौठो भएको छु । न सद्धे छु, न बिग्रीएको छु,
के
छु ? म आँफैलाई थाहा छैन ।
हो, अनामिका,
न बाँचेको छु, न मरेको छु,
केबल तिम्रै भर परेको छु,
स्विकार, नस्विकार तिम्रो इच्छा,
मैले तिमीलाई प्रेम गरेको छु ।।
I Love You Anamika…….
लेख्दा लेख्दै मनका भावना उर्लिएर आए । भावनालाई शव्दमा उतार्न
गाह्रो छ भन्ने थाहा हुँदा हुँदै पनि कलम दौडियो । जवरजस्त कलमलाई बिदा दिन
जाँदैछु, तिम्रो सकारात्मक प्रतिक्रियाको आशमा । खै, कसरी रोकुँ यो
कलम ? तर वाध्यता नै यस्तो, त्यसैले बाँकी अर्को पत्रमा………….. ।
उही, तिमीलाई आफ्नो ठान्ने
के.आर. ढकाल
0 Comments